काठमाडौँ । अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।
अख्तियारका अनुसार महतोले अध्यागमन सूचना प्रणालीअन्तर्गत रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरी आवासीय भिसासम्बन्धी सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरेको अनुसन्धानबाट खुलेको छ ।
आयोगको अनुसन्धानअनुसार महतोले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी तथा अधिकारप्राप्त अधिकारीको निर्णयसमेत नभएको अवस्थामा लक्जेम्बर्गका नागरिक पल क्रिस्टियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसासम्बन्धी सम्पूर्ण विवरण अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा एकीकृत गरेका थिए ।
आयोगका अनुसार विसं २०८० फागुन ९ गते (सन् २०२४ फेब्रुअरी २१) मा अध्यागमन सूचना प्रणाली ‘नेपाली पोर्ट’ मा रहेको ट्राभलर सेन्ट्रलाइजेसन सुविधामार्फत उक्त विवरण परिवर्तन गरिएको थियो । भिसा जारी गर्दा तोकिएको राजस्वसमेत दाखिला नगरिएको र सोही आधारमा डिन जे रोबिन्सनको राहदानीमा भिसा प्रयोग भएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।
सरकारी अभिलेखलाई सुरक्षित र यथावत् राख्नुपर्ने दायित्वविपरीत प्रणालीको दुरुपयोग गरी विवरण सच्याउने, थपघट गर्ने वा हेरफेर गरेको आरोपमा अख्तियारले राजीव महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।
यस प्रकरणमा अमेरिकी नागरिक डिन जे रोबिन्सनलाई समेत प्रतिवादी बनाइएको छ । आयोगले उनलाई महतोले गरेको भनिएको कसुरमा सहयोगी (मतियार) को भूमिका निर्वाह गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मुख्य कसुरदारसरह कैद र जरिवानाको माग गरेको छ ।
अख्तियारले अध्यागमन प्रणालीजस्तो संवेदनशील सरकारी अभिलेख व्यवस्थापन प्रणालीको दुरुपयोग गरी अनधिकृत लाभ लिने वा उपलब्ध गराउने कार्य भ्रष्टाचारजन्य कसुर हुने जनाएको छ ।


प्रतिक्रिया