विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले मुलुकको निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएकी छन् ।

मङ्गलवार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा बोल्दै उनले निर्वाचनमा प्रविधिको प्रयोग, यसको सुरक्षा र समावेशिताका विषयमा धारणा राखेकी हुन् । सांसद अग्रवालले आधुनिक युगमा प्रविधि भित्र्याउनु अपरिहार्य भएपनि यसको सुरक्षा र दीर्घकालीन कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गरिन् ।

निर्वाचनलाई पेपरलेस बनाउँदा राज्यको भार कम हुने र उम्मेदवार तथा मतदाताको खर्च समेत न्यूनीकरण हुने उनको तर्क छ । निर्वाचनका क्रममा मतदाताले भोग्नुपर्ने सास्ती र खर्चका कारण धेरै नागरिक मतदान प्रक्रियाबाट बाहिर रहेको चर्चा गर्दै सांसद अग्रवालले निर्वाचनलाई थप समावेशी बनाउनु पर्नेमा जोड दिइन् ।

उनले भनिन, ‘प्रविधि भित्र्याउँदै गर्दा त्यो कति सुरक्षित छ र हामी त्यसलाई दीर्घकालीन रूपमा कसरी कार्यान्वयन गर्न सक्छौँ भन्ने मुख्य प्रश्न हो । मतदाताले भोग्नुपरेको सास्तीका कारण धेरै नागरिक भोट हाल्न जानसक्ने स्थिति छैन । त्यसैले सबैलाई समेटेर समावेशी रूपमा मतदान गराउनु र खर्च न्यूनीकरण गर्नु अहिलेको चुनौती हो ।’

स्थानीय र प्रदेश तहमा प्रविधिको प्रभावकारी प्रयोगबारे जिज्ञासा राख्दै अग्रवालले जनताले अहिले तत्काल परिणाम खोजिरहेको उल्लेख गरिन । निर्वाचनको परिणामका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । सांसद अग्रवालले विदेशमा रहेका नेपाली नागरिकहरूलाई चाँडोभन्दा चाँडो मताधिकार प्रदान गर्ने विषयलाई अहिलेको प्राथमिक आवश्यकताका रूपमा उठाउनुपर्ने बताइन् ।