काठमाडौं । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् ।
कर्फ्यू आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको उत्तर र दक्षिणतर्फ दुई सय मिटर क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ ।
त्यस्तै, इनरुवा बजार क्षेत्रभित्र पनि सोही अवधिसम्म सबै प्रकारका सार्वजनिक गतिविधिमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक कदम चालिएको जनाएको छ ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।


प्रतिक्रिया