आजदेखि अस्पतालको नियमित सेवा सञ्चालनमा

आजदेखि अस्पतालको नियमित सेवा सञ्चालनमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सहमति भएपछि दुई दिनदेखि जारी चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । सहमतिसँगै आज बिहीबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन भएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिकबाहेकका सेवा बन्द गर्दै आन्दोलन गरेको थियो । आन्दोलनका कारण देशभरका अस्पतालमा नियमित उपचार सेवा प्रभावित बनेको थियो ।

बुधबार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा भएको वार्तामा सरकार र चिकित्सक संघबीच चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गर्ने, स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनेलगायत विषय समेटिएको ५ बुँदे सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । स्वास्थ्यमन्त्री निशा मेहताका स्वास्थ्य सल्लाहकार डा. मनोहर प्रधानले आज बिहीबारदेखि देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन भएको बताए ।