विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछि स्पेनका खेलाडीमाथि हातपात गरेको आरोपमा अर्जेन्टिनाका दुई खेलाडीविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ। साथै, इंग्ल्यान्डलाई सेमिफाइनलमा हराएपछि फकल्याण्ड टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेको भन्दै अर्जेन्टिना फुटबल संघमाथि पनि आरोप लगाइएको छ।
फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनात्मक मुद्दाको सूचीमा अर्जेन्टिनासँग सम्बन्धित अन्य आरोप पनि छन्। तीमध्ये समर्थकबाट भएको भनिएको भेदभावपूर्ण नारा र हाउभाउ, फाइनलपछि सहायक प्रशिक्षकले गरेको भनिएको हातपात, तथा विश्वकपका विभिन्न खेलमा दर्शकले वस्तु फ्याँकेको घटनासमेत समावेश छन्।
जुलाई १९ मा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गरेपछि मैदानमा भएको झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो परेडेसमाथि हातपातसम्बन्धी तीनवटा आरोप लगाइएको छ। डिफेन्डर नाहुएल मोलिनामाथि दुईवटा आरोप लगाइएको छ भने सहायक प्रशिक्षक रोबर्टो आयालामाथि पनि अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरिएको छ।
मोलिना र थियागो आल्माडामाथि खेल भावना विपरीत व्यवहार गरेको आरोप पनि लगाइएको छ। स्पेनका खेलाडी गाभीमाथि पनि यही प्रकारको आरोप लगाइएको छ।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि खेलाडीहरूले “लास माल्भिनास सन अर्जेन्टिनास” (अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो) भन्ने नारासहितको ब्यानर प्रदर्शन गरेका थिए।
अर्जेन्टिनाले फकल्याण्ड टापुलाई इस्लास माल्भिनास भनेर चिनाउँछ। सन् १९८२ मा तत्कालीन सैनिक शासनको आदेशमा अर्जेन्टिनाले ती टापुमा आक्रमण गरेपछि बेलायतसँग १० हप्तासम्म युद्ध भएको थियो, जसमा बेलायत विजयी भएको थियो।
बेलायती सरकारी अधिकारीहरूले यस घटनाको छानबिन गर्न फिफासँग आग्रह गरेका थिए। फिफाले राजनीतिक ब्यानर प्रदर्शन गरेको विषयलाई “खेलबाहेकका उद्देश्यका लागि खेलकुद प्रतियोगिताको प्रयोग गरेको” आरोपका रूपमा उल्लेख गरेको छ।
फिफाले आरोप लागेका सबै व्यक्ति र पक्षलाई आफ्नो स्पष्टीकरण पेश गर्ने अवसर दिइएको जनाएको छ। त्यसपछि फिफाको अनुशासन समिति ले आवश्यक निर्णय गर्नेछ।


प्रतिक्रिया