नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्व मन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन् ।

साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभई संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । तर, राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाइन् ।

उनले उक्त घटनामा मृत्युवरण गर्ने ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन् । अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन् ।

उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत गरिन् ।

उनले भने, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जबाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन । देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बिचमा गएर संवाद गर्नुपर्छ । हाम्रा पुर्खाको बलिदानले जोगिएको यो देशको विरासत कमजोर बनाउने हक कसैलाई छैन । दुई महिनादेखि हामीले प्रश्न उठाइरहेका छौँ, तर प्रधानमन्त्रीबाट अझै चित्तबुझ्दो जवाफ आएको छैन। संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्छ ।’

प्रधानमन्त्रीले विगतमा संसद्मा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दाबी गरिन् । सम्बोधनका क्रममा उनले बाढी पहिरो पीडितहरूको राहत र पुनर्स्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाइन् ।

साथै, सुकुम्वासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य राज्यबाट भएको भन्दै उनले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गरिन् ।