देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ ।

शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् ।

मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबीच सहमति भएको छ ।

त्यस्तै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।

सम्झौता पत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतक द्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ ।