जनकपुरधाम । धनुषामा सामाजिक सद्भाव र्याली भोलि शनिबार निकालिने भएको छ । सांसद विश्वराज पोखरेलको नेतृत्वमा शुक्रबार बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले शनिबार सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
सर्वपक्षीय सद्भाव समितिको बैठकले विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायबीच आपसी सद्भाव, भाइचारा तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न जनकपुरधाममा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको हो । जिल्लाका स्थानीय तहमा पनि यस्ता सद्भावमूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पालिकाहरूसँग अनुरोध गर्ने निर्णय भएको छ।
सांसदहरु मातृका यादव, यज्ञमणि न्यौपाने र रामविनोद यादवको बैठकमा सहभागिता थियो । बैठकमा सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइएको थियो।
समितिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत् भ्रामक अफवाह फैलाउने, पुराना घटनालाई उचाल्ने, धर्म तथा समुदायबीच द्वेष फैलाउने र अमर्यादित तथा अशोभनीय टिप्पणी गर्ने गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधि रोक्न सम्बन्धित सबै पक्षले जिम्मेवार बन्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।



प्रतिक्रिया