विदेशमा पनि बढ्यो ‘बेहुली’को क्रेज

विदेशमा पनि बढ्यो ‘बेहुली’को क्रेज


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय उत्साह बटुलेको छ। प्रदर्शनअघि नै विभिन्न देशमा आयोजना गरिएका शोहरू ‘सोल्ड आउट’ भएपछि चलचित्रको विदेश प्रदर्शन थप व्यापक बन्ने भएको छ।

निर्माण टिमले सार्वजनिक गरेको जानकारीअनुसार चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, दुबई, कतार र बहराइनमा प्रदर्शन हुनेछ। ती देशहरूमा रहेका नेपाली दर्शकमाझ चलचित्रप्रति उत्साहजनक प्रतिक्रिया देखिएको जनाइएको छ।

चलचित्रको अन्तर्राष्ट्रिय वितरण अस्ट्रेलियामा आशिस एन्ड नमस्ते इन्टरटेनमेन्ट, अमेरिका र क्यानडामा चलचित्र इन्टरटेनमेन्ट, बेलायतमा ९७७ इभेन्ट्स तथा दुबई, कतार र बहराइनमा साथीभाइ इन्टरटेनमेन्टले गर्नेछन्। यी सबै बजारमा अग्रिम रूपमा आयोजना गरिएका शोहरू ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।

सुशान कँडेल निर्देशित चलचित्रको कथा माधव शर्माले लेखेका हुन् भने सङ्गीत तथा प्रस्तुती अर्जुन पोखरेलको रहेको छ। चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन्।

चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्। दुर्गा खरेल, शिशिर श्रेष्ठ सह–निर्माता तथा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रहेका छन्। चलचित्र द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुति हो।

नेपालमा प्रदर्शन हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा शोहरू ‘सोल्ड आउट’ हुनु नेपाली चलचित्रप्रति प्रवासी नेपाली दर्शकको बढ्दो आकर्षणको सङ्केतका रूपमा हेरिएको छ। निर्माण पक्षले आगामी दिनमा अन्य देशहरूमा पनि चलचित्र प्रदर्शन विस्तार गर्ने तयारी रहेको जनाएको छ।