काठमाडौं । अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फिर्ता भएको छ ।
अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।
अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो । ‘विशेष सूचनाका आधारमा छापा मारिएको हो,’ उनले भने, ‘घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, केही भेटिएन ।’ देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताए ।
‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्यौँ,’ उनले भने, ‘सबै ठाउँ हेर्नुभयो, अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।’


प्रतिक्रिया