काठमाडौं । नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेश पुनरवलोकनको माग गर्दै दायर निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
उक्त इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो । अनुमति पाएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिट खारेज गर्ने आदेशमाथि पुनः सुनुवाइ हुने भएको छ ।
यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो । उक्त इजलासले देउवा पक्षले दायर गरेको रिट खारेज गरेको थियो ।
सो आदेश पुनरवलोकन गर्न माग गर्दै देउवाले गत साउन ७ गते वारेसमार्फत सर्वोच्चमा निवेदन दिएका थिए । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।
उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।


प्रतिक्रिया