एजेन्सी । संयुक्त राज्य अमेरिकाको श्रम बजारमा शिथिलता छाएसँगै जुलाई महिनामा रोजगारीको संख्यामा अनपेक्षित गिरावट आएको छ । अमेरिकी श्रम तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुलाईमा २३ हजार रोजगारी कटौती भएको छ ।
गैर–कृषि क्षेत्रको रोजगारीमा मौसमी समायोजनपछि २३ हजारको गिरावट देखिएको हो। यसअघि अर्थशास्त्रीहरूले जुलाईमा ८३ हजारले रोजगारी बढ्ने प्रक्षेपण गरेका थिए । अघिल्लो महिनाको तथ्याङ्कलाई पनि संशोधन गर्दै २० हजारको गिरावट देखाइएको छ ।
प्रतिवेदनअनुसार बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ भने श्रम शक्ति सहभागिता दर घटेर ६१.४ प्रतिशतमा पुगेको छ । यो सहभागिता दर विगत पाँच वर्षयताकै न्यून बिन्दु हो । श्रम शक्ति सहभागिता दरले रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका जनसङ्ख्याको हिस्सालाई जनाउँछ ।
क्षेत्रगत रूपमा हेर्दा स्थानीय सरकारी शिक्षा क्षेत्रमा ५० हजार र खुद्रा व्यापार क्षेत्रमा १९ हजार रोजगारी घटेको छ । त्यसैगरी, वित्तीय गतिविधिमा १४ हजार तथा मनोरञ्जन र आतिथ्य क्षेत्रमा ४० हजार रोजगारी कटौती भएको छ । रोजगारी सिर्जनामा महत्त्वपूर्ण मानिने स्वास्थ्य सेवा क्षेत्रमा भने २२ हजार नयाँ रोजगारी थपिएको छ, यद्यपि यो सङ्ख्या उक्त क्षेत्रको १२ महिनाको औसत वृद्धि ३६ हजारभन्दा कम हो ।
आर्थिक सूचकहरूका अनुसार औसत प्रतिघण्टा ज्याला दर स्थिर जस्तै छ, जसमा मात्र २ सेन्टको सामान्य वृद्धि देखिएको छ ।
उच्च मुद्रास्फीति नियन्त्रणका लागि चालिने आगामी कदमका बारेमा संघीय रिजर्भका नीति निर्माताहरूबीच मतभेद भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । रोजगारीको यो निराशाजनक तथ्याङ्क सार्वजनिक भएपछि बजार विश्लेषकहरूले सेप्टेम्बरमा हुन सक्ने ब्याजदर वृद्धिको सम्भावना कमजोर बनेको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया