काठमाडौँ । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गरे । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उनले यस विधालाई जटिल कलाको रूपमा अर्थ्याए । सो क्रममा उनले कार्यक्रममा उपस्थित कलाकार रवीन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रस्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गरे । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शो को हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गरे । ‘सुपर कमेडी लिग’ को घोषणासँगै नेपाली मनोरञ्जन क्षेत्रमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
हमालले भने, ‘भावनामा आएर कसैलाई रुवाउन वा माया-प्रितीका कुराहरू प्रस्तुत गर्न सहज भए पनि प्रस्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ । यो व्यक्तिको ’सेन्स अफ ह्युमर’ सँग प्रत्यक्ष जोडिने विषय हो ।’


प्रतिक्रिया