मुम्बई । बलिउड हाँस्य अभिनेता राजपाल यादव आफ्नो बाँकी ऋणका कारण पुनः चर्चामा आएका छन्। प्राप्त जानकारी अनुसार अब उनका सम्पत्तिहरू लिलाम गरिने भएका छन्।
सेन्ट्रल बैंक अफ इन्डियाले राजपाल यादवका दुईवटा सम्पत्तिमा लिलामीको सूचना टाँसेको छ, उनले बैंकलाई १६ करोड ६१ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ। रकम चुक्ता गर्न नसकेका कारण उनका दुईवटा सम्पत्ति मध्ये सहरमा रहेको घर र गाउँमा रहेको जग्गाको टुक्रा अब लिलाम हुँदैछन्। यो लिलामी सन् २०२६ को सेप्टेम्बर ९ का लागि तय गरिएको छ।
यद्यपि, यी दुवै सम्पत्तिको कुल मूल्य जम्मा ३ करोड १९ लाख रुपैयाँ मात्र अनुमान गरिएको छ। यसअघि राजपाल यादवले यसै प्रकरणमा जेल सजाय समेत भोगिसकेका छन्, तैपनि उनी अझैसम्म यो अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन सकेका छैनन्।
यसअघि दिल्ली उच्च अदालतले बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स प्रकरणमा दोषी ठहर गर्दै ३ महिनाको कैद सजाय सुनाइसकेको छ ।
अदालतले यस प्रकरणमा मुख्य रूपमा देहाय बमोजिमका निर्देशन र आदेश दिएको छ । सजाय तथा जरिवाना तोक्दै दिल्ली उच्च अदालतका न्यायाधीश स्वर्णा कान्ता शर्माको इजलासले राजपाल यादवलाई ३ महिनाको जेल सजायका साथै ७ वटा चेक बाउन्स मुद्दामा प्रत्येक मुद्दाका लागि १ करोड ५ लाख रुपैयाँ गरी कुल ७.३५ करोड भारतीय रुपैयाँ भुक्तानी गर्न आदेश दिएको छ।
उता, सम्झौता कार्यान्वयन नगरेको सबालमा दालतले पटक पटक रकम फिर्ता गर्ने वाचा र प्रतिबद्धता जनाए पनि सो बमोजिम रकम नतिरी अदालतको बाचा तोडेको भन्दै उनको रवैयाप्रति असन्तुष्टि जनाएको थियो। अभिनेता राजपाल यादवले यसअघि नै करिब २ करोड रुपैयाँ बुझाइसकेकाले उक्त रकमलाई अन्तिम जरिवाना वा क्षतिपूर्ति निर्धारण गर्दा समायोजन गरिने अदालतले स्पष्ट पारेको छ।


प्रतिक्रिया