काठमाडौँ । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताए । उनले बैठकमा सांस्कृतिक पोशाक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न सभामुखको ध्यानाकर्षण गराए । सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर आए संसद प्रवेशमा रोक लगाउनुपर्ने माग गरे । उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरे ।
उनले भने, ‘सन् २०२१को फेब्रुअरी ९ मा न्युजिल्याण्डको संसदमा रविरी वैतिती नामका सांसदले उपनिवेशिक पासो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सदनबाट निष्काशन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसदमा पोसाकसम्मिता लागु गर्न संसदीय रुलिङ भएको थियो ।
संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस् । प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् । संसदको लोगो कोट, हाफ कोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस् । संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु ।’
उनले न्यूजिल्याण्ड र क्यानडाको संसदमा पोशाक सम्बन्धीको नियम तथा रुलिङको उदाहरण समेत प्रस्तुत गरे ।


प्रतिक्रिया