रोहितलाई धन्यवाद दिँदै क्यानले भन्यो- ‘एक पटकको नेता, सधैंको नेता’

रोहितलाई धन्यवाद दिँदै क्यानले भन्यो- ‘एक पटकको नेता, सधैंको नेता’


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिँदै उनको नेतृत्वको प्रशंसा गरेको छ ।

क्यानले सामाजिक सञ्जालमार्फत रोहितले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको नेतृत्वमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएको हो ।

‘राष्ट्रको आशा बोकेर नेपाललाई जोश, समर्पण र अटल दृढताका साथ नेतृत्व गरेकोमा धन्यवाद रोहित,’ क्यानले भनेको छ ।

क्यानले रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले उल्लेखनीय उपलब्धि हासिल गरेको र त्यसक्रममा सिर्जना भएका क्षणहरू नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेको जनाएको छ ।

टोली, देश र क्रिकेटप्रतिको रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै क्यानले आगामी दिनमा पनि उनले उही भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटमा योगदान दिने विश्वास व्यक्त गरेको छ ।

‘तपाईंको टोली, देश र खेलप्रतिको प्रतिबद्धता सधैँ प्रेरणाको स्रोत रह्यो,’ क्यानले भनेको छ, ‘तपाईंले आफ्नो यात्रामा देखाउनुभएको उही भावना, गर्व र समर्पणका साथ नेपालका लागि निरन्तर योगदान दिइरहनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

क्यानले रोहितलाई सम्मान गर्दै ‘Once a leader, always a leader’ भनेको छ । यसको अर्थ ‘एक पटकको नेता, सधैंको नेता’ भन्ने हुन्छ ।

क्यानले रोहितलाई एकदिवसीय कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो ।

रोहितको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा महत्वपूर्ण सफलता हात पारेको थियो । उनको कप्तानीमा नेपालले विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । यस्तै, नेपालले एसिया कपमा समेत पहिलोपटक सहभागिता जनाएको थियो ।

यद्यपि पछिल्लो समय एकदिवसीय क्रिकेटमा नेपालको प्रदर्शन कमजोर हुँदै गएपछि क्यानले कप्तानीमा परिवर्तन गरेको हो ।