काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै सरकारको कार्यशैलीप्रति सांकेतिक टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै आलेमगरले द्रुत गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी र त्यसका चालकको अवस्थालाई जोडेर तीव्र गतिमा अघि बढ्दा सन्तुलन नमिले गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए ।
उनले ट्राफिक नियममा रहेको ‘बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने नारालाई उद्धृत गर्दै तीव्र गतिमा चल्ने सवारीको जोखिमबारे चर्चा गरे ।
‘एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पुर्याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन,’ उनले भने ।
आलेमगरले चालक दक्ष र सचेत भए मात्रै तीव्र गतिमा चल्ने सवारी सुरक्षित रूपमा गन्तव्यमा पुग्ने बताए । चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाए दुर्घटना निश्चित हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस वे’मा रहेको बताएका थिए । सोही अभिव्यक्तिलाई संकेत गर्दै आलेमगरले ‘एक्सप्रेस’ र ‘लोकल’ गाडीमध्ये कुन रोज्ने भन्नेभन्दा पनि त्यसको चालकको अवस्था र नियम पालना महत्वपूर्ण हुने बताए ।
उनले तीव्र गतिमा अघि बढ्दा पनि चालकको दक्षता, सचेतना र नियमको पालना सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया