युवालाई निर्णय प्रक्रियामा सहभागी गराउन जोड (फोटोफिचर)

युवालाई निर्णय प्रक्रियामा सहभागी गराउन जोड (फोटोफिचर)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले युवालाई भाषणमा मात्र सीमित नराखी निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपा कोशी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा युवाका लागि रोजगारी, गुणस्तरीय शिक्षा, उद्यमको वातावरण, सुशासन र नेपालमै भविष्य निर्माण गर्ने अवसर आवश्यक रहेको बताइएको छ।

कार्यक्रममा नेपाली युवाको परिवेश र अनुभव फरक भए पनि उनीहरूको आकाङ्क्षा सम्मानजनक जीवन, रोजगारी, शिक्षा र आफ्नै देशमा भविष्य निर्माण गर्ने अवसर रहेको उल्लेख गरिएको छ।

रास्वपाले युवालाई विदेश जानबाट रोक्ने भाषणभन्दा नेपालमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएको छ। युवाको प्रतिभा र श्रमको सम्मान हुने तथा उद्यम गर्न चाहने युवाले सरकारी कार्यालयमा अनावश्यक झन्झट व्यहोर्न नपर्ने वातावरण बनाउनुपर्ने बताइएको छ। योग्यताभन्दा पहुँच र नातागोताका आधारमा अवसर निर्धारण हुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि जोड दिइएको छ।

कार्यक्रममा राजनीतिक दल, नेतृत्व र संगठनको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताइएको छ। युवाले पनि राजनीतिमा सक्रिय रूपमा सहभागी भएर प्रश्न गर्ने, बहस गर्ने, गलत कुराको विरोध गर्ने र सही कामको समर्थन गर्दै आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्ने आह्वान गरिएको छ।

रास्वपा कोशी प्रदेश समितिले युवाको आवाज सुन्ने मात्र नभई नेतृत्व विकास गर्ने, अवसर सिर्जना गर्ने र युवालाई निर्णय प्रक्रियामा निर्णायक भूमिकामा स्थापित गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा ‘सक्षम युवा, जिम्मेवार राजनीति र समुन्नत नेपाल’लाई साझा लक्ष्य बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

मुख्यमन्त्री कार्यालयका सचिव राजेश्वर ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल, नेपाल उद्योग वाणिज्व्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, वरिष्ठ कवि तथा प्रखुर चिन्तक मनु मन्जिल, राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।