कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् ।
गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नाम थर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए।
“मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भने । उनका अनुसार घटनाको जानकारी पाएपछि राति १:२७ बजे प्रहरीचौकी नयाँ पुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा चार जनाको टोली उद्धारका लागि खटिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको प्रशासनले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पानीको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी मोदी खोलाको बाढीले अन्नपूर्ण–८ स्थित विरेठाँटी नजिक बाटो कटान गर्दा नयाँ पुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सहायक प्रजिअ बरालले जानकारी दिए ।


प्रतिक्रिया