भदौ १ गते मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

भदौ १ गते मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


ग्लोब नेपाल
0
Shares

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले निश्चित समयभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार तथा मन्त्रालय बाँडफाँटको विषय टुङ्गो लगाउने तयारी गरिएको छ। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको संरचना परिवर्तन हुने अवस्थामा पुगे पनि नयाँ सत्ता समीकरण अनुसार सरकारलाई पूर्णता दिने विषय भने अझै टुङ्गिन बाँकी छ।

प्रदेश सभामा एमाले सबैभन्दा ठुलो दलका रूपमा रहेको छ। ८३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि सामान्य बहुमतका रूपमा ४२ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका २९ प्रदेश सभा सदस्य छन् भने नेकपाका सभामुखसहित १३ सदस्य छन् ।