लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

आचार्यको विश्वासको मतविरुद्ध मतदान गर्न निर्देशन


ग्लोब नेपाल
0
Shares

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पत्र पठाउँदै आजकै मितिदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

एमाले नेता आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई जसपा नेपालले यसअघि समर्थन दिएको थियो । तर, पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिएसँगै जसपा नेपालले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको छ । महासचिव झाले पत्रमार्फत लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई पार्टीको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिन संसदीय दलका नेता पाण्डेयलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेको समयमा जसपा नेपालको समर्थन फिर्ताले सरकारको पक्षमा आवश्यक मत जुटाउने समीकरणमा समेत असर पार्ने देखिएको छ । लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।