काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन् ।
संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारे ।
उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक–पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए ।
उनले भने ‘गगन कुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुईजनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु ।’
कोइरालाले काँग्रेसभित्र पछिल्लो समय बढेको आरोप–प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे । पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए ।
वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ ।
उनले भने ‘वीपी हुँदा यस्तो गालीगलौज हुँदैनथ्यो । विवाद हुन्थ्यो, तर एउटा सीमित घेरामा बस्थे, यस्तो किसिमको छरपस्ट त हुँदैनथ्यो । मलाई सम्झना छ, प्रदीप गिरीज्यू विवाद गर्नुहुन्थ्यो, प्रश्नहरू गर्नुहुन्थ्यो । बौद्धिक विमर्श, हो त्यो विमर्श भनौँ न । त्यहाँ झगडा, लुछाचुँडी हुँदैनथ्यो । आदर्शहरूको बारेमा बीपीले भन्नुहुन्थ्यो, त्यसलाई डिफेन्ड उहाँले गर्नुहुन्थ्यो । त्यसको प्रतिपक्षमा उहाँ हुनुहुन्थ्यो । अनि उहाँहरूको आदान प्रदान हामी सुन्थ्यौँ ।’
उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए । विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुवै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे ।
काँग्रेसभित्र सहमति हुने दाबी गर्दै उनले कहिले र कसरी मिल्ने भन्ने चाहिँ अहिले नै भन्न नसकिने बताए ।
उनले भने ‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुपर्यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरू के चाहिने रु हामी बीच लाइनमा छौँ, हामी मिलाएर जान्छौँ । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’
उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके काँग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।


प्रतिक्रिया