काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भिर नभएको आरोप लगाएको छ । मंगलवार पार्टी कार्यलय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल संशोधनको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसकै भएको केन्द्रीय समितिको बैठकले निष्कर्ष निकालेको छ । संविधान गतिशील दस्ताबेज भएकाले बदलिँदो आवश्यकता र परिस्थितिअनुसार संशोधन हुनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अंग भएको प्रवक्ता चालिसेले जानकारी दिए ।
कांग्रेसले लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, बहुदलीय संसदीय प्रणाली, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समावेशिता र मानव अधिकार जस्ता संविधानका आधारभूत मान्यताका विषयमा भने कुनै संशोधन हुन नसक्ने बताएको छ । काँग्रेसले संशोधन लागि सर्वपक्षीय राजनीतिक संवाद, बहस र सहभागिता अनिवार्य गर्न सरकारसँग माग गरेको छ ।
उनले भने, ‘संविधान गतिशील दस्ताबेज हो, बदलिँदो आवश्यकता अनुसार यो संशोधन पनि हुन्छ । र यो सबै यो लोकतान्त्रिक प्रक्रियाको यो स्वाभाविक अङ्ग हो संशोधन । यसमा संशोधन गर्ने प्रक्रिया जस्तो गम्भीर प्रक्रियालाई सरकारले जुन हल्का रुपमा प्रस्तुत गरेको थियो, यसमा हामीले सुरुदेखि नै हल्का ढंगले गरिएको संशोधनको प्रयास जुन कार्यदल बनाएको थियो, त्यसमा हामी रहेनौँ ।’
कांग्रेसले सरकारसमक्ष संविधानका आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्ने माग अघि सारेको छ । उक्त आयोगले सबै पक्षसँग छलफल र संवाद गरी आवश्यक सुझाव प्रस्तुत गर्ने र त्यसबाट थप उन्नत लोकतन्त्र तथा संविधान निर्माणमा योगदान पुग्ने कांग्रेसको भनाई छ ।


प्रतिक्रिया