अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गरेका छन् । बुधवार एक वक्तव्य जारी गर्दै ट्रम्पले इरानले सम्झौताका लागि दिइएको अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै यस्तो कदम चालेको बताएका हुन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले यस अभियानलाई अभूतपूर्वस्तरको आर्थिक युद्ध र एक्लोपनको संज्ञा दिए ।
उनले इरानको वर्तमान अवस्थाको चित्रण गर्दै भने, ‘इरानको नौसेना समाप्त भएको छ, वायुसेना ध्वस्त भएको छ, सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएका छन् र उनीहरूको मुद्रा मूल्यहीन बनेको छ ।’
उनले इरान अहिले अत्यन्तै नाजुक अवस्थामा रहेको दाबीसमेत गरे । राष्ट्रपति ट्रम्पले इरानलाई सहयोग पुर्याउने अन्य मुलुक वा निकायहरूलाई समेत कडा चेतावनी दिएका छन् । उनले भने, ‘कुनैपनि देश जसले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायहरूमार्फत इरानलाई कुनैपनि किसिमको सहयोग उपलब्ध गराउँछन्, उनीहरूले स्वयं गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेछ ।’
यस अभियानलाई इकोनोमिक डी–डे’ (आर्थिक महासंग्राम) को संज्ञा दिँदै ट्रम्पले इरानी खतरालाई परास्त गर्न र उसलाई विश्व समुदायबाट अलग्याउन आफ्ना सहयोगी राष्ट्रहरूलाई अमेरिकासँग उभिन आग्रह गरेका छन् ।
अमेरिका र इरानबीच रणनीतिक महत्त्वको ‘होर्मुज जलडमरू’ र द्वन्द्व अन्त्यका शर्तहरूका विषयमा लामो समयदेखि विवाद जारी छ । समझदारी पत्र अन्तर्गत तोकिएको ६० दिनको वार्ता अवधि गत सोमवार समाप्त भएपछि दुई देशबीचको संवादको भविष्य अन्योलमा परेको छ । वार्ता निष्कर्षविहीन बनेसँगै ट्रम्पको यो आक्रामक रणनीति सार्वजनिक भएको हो ।


प्रतिक्रिया