काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट आज बिहान राजधानी फर्किएका छन् । गत शुक्रबार बिहान स्थलमार्ग हुँदै बालुवाटारबाट निस्किएका प्रधानमन्त्रीको १४ सदस्यीय टोली आज बिहान बुद्ध एयरको उडानमा पोखराबाट काठमाडौं फर्किएका हुन् ।
प्रधानमन्त्री शाह आफै गाडी हाँकेर त्यता गएका थिए । शुक्रबार राति पोखरा नजिकैको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेको टोली भोलिपल्ट जोमसोमस्थित होटल ओम्स होममा बसेको थियो ।
हिजो पोखरा फर्केका प्रधानमन्त्री परिवारका सदस्यहरुसहित पोखरा १४ स्थित विजयपुर खोला नजिकै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको रिसोर्ट मझेरी मञ्जिलमा बास बसेको थियो ।
पोखराबाट बुद्ध एयरको उडानमा आज बिहान ९ बजे काठमाडौं आउँदा १४ जनाको टोली रहेको बताइन्छ । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमेत थिए । प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका क्रममा टोलीमा रहेका अन्य १२ जनाको विवरण भने सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया