म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ भनेर गोल गरिएको फुटबल ३३ लाख ५० हजार अमेरिकी डलरमा लिलाम भएको छ। ‘हेरिटेज लिलामी’ले जनाए अनुसार सन् १९८६ को फिफा विश्वकपमा इङ्गल्याण्डविरुद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र एकल प्रयासमा गरिएको अर्को गोलका लागि प्रयोग गरिएको सो फुटबल ३३ लाख ५० हजार अमेरिकी डलरमा लिलाम भएको हो।
इङ्गल्याण्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले २–१ को जित हासिल गर्दा ‘एडिडास एज्टेका’ बल प्रयोग गरिएको थियो, सोही खेलमा म्याराडोनाले विश्वकप इतिहासकै दुईवटा अविस्मरणीय गोल गरेका थिए।
डालसमा रहेको लिलामी कम्पनीले स्थानिय समय अनुसार शनिबार सो बल ३३ लाख ५० हजार डलरमा बिक्री गरेको जनाएको हो । विज्ञहरूले खेलका क्रममा खिचिएका तस्बिरहरूसँग भिडाएर उक्त बलको पहिचान पुष्टि गरेका थिए। अन्तिम बिक्री मूल्य लिलामी अघि अनुमान गरिएको कम्तीमा १० मिलियन डलरभन्दा निकै कम थियो।
लिलामी अघि हेरिटेजले यसलाई कुनै पनि खेलकुद विधाकै सायद सबैभन्दा चर्चित बलको रूपमा वर्णन गरेको थियो र यो अहिलेसम्म बिक्री भएको सबैभन्दा मूल्यवान फुटबल सामग्री बन्न सक्ने बताएको थियो।
इङ्गल्याण्डविरुद्ध म्याराडोनाले गरेको पहिलो गोल ‘ह्यान्ड अफ गड’का रूपमा चर्चित भयो । उनले गोलकिपर पिटर शिल्टनलाई छक्याउँदै बललाई जाली भित्र पठाउन आफ्नो बायाँ हातको प्रयोग गरेका थिए र खेल अधिकारीहरूले उक्त गोललाई मान्यता दिएका थिए।
त्यसको ४ मिनेट पछि अर्जेन्टिनाका कप्तानले आफ्नै हाफमा बल नियन्त्रणमा लिए र इङ्गल्याण्डका पाँच खेलाडीलाई छक्याउँदै गोल गरे । पछि यो गोललाई फिफा विश्वकपको ‘गोल अफ द सेन्चुरी’ अर्थात ‘शताब्दीकै उत्कृष्ट गोल’ का रूपमा पहिचान बनाउन सफल भयो ।
उक्त खेल सञ्चालन गर्ने ट्युनिसियाली रेफ्री अली बिन नासेरले ३६ वर्षसम्म सो बल सुरक्षित राखेका थिए। यसअघि सन् २०२२ मा लन्डनमा भएको लिलामीमा यो बल २० लाख पाउन्डमा बिक्री भइसकेको थियो । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सोही वर्षको अन्त्यतिर सोथेबीजमा करिब ९३ लाख अमेरिकी डलर मा बिक्री भएको थियो।
यो पछिल्लो बिक्री कुनै पनि खेलको बलका लागि कायम रहेको लिलामीको कीर्तिमानभन्दा कम रह्यो। सन् २०२४ को ऐतिहासिक ‘मेजर लिग बेसबल’ सिजनमा शोहेई ओतानीले प्रहार गरेको ५०औँ होम रन बल क्रेताको प्रिमियम सहित ४३ लाख ९२ हजार अमेरिकी डलरमा बिक्री भएको थियो।
साथै, खेलकुदसँग सम्बन्धित यादगार वस्तुहरूको लिलामीमा समग्र कीर्तिमान भने सन् १९३२ को ‘वर्ल्ड सिरिज’ को तेस्रो खेलमा बेब रुथले लगाएको ‘न्युयोर्क यान्कीज’ को जर्सीको नाममा छ । हेरिटेजले सन् २०२४ मा क्रेताको प्रिमियमसहित उक्त जर्सी २ करोड ४१ लाख २० हजार अमेरिकी डलरमा बिक्री गरेको थियो।


प्रतिक्रिया