काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।
उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन् । थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन अनुरोध गरेका छन् ।
‘विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ,’ थापाले भनेका छन् । उनले नेपाली कांग्रेसका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व एवं सदस्यलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहत कार्यमा तुरुन्त जुट्न अपिल गरेका छन् ।
थापाले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई सक्रिय हुनसमेत आग्रह गरेका छन् ।


प्रतिक्रिया