सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा मात्र नभई विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको बताएका छन्।

राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवम् सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीसँग बुधबार शीतल निवासमा भएको भेटघाटमा यस्तो धारणा व्यक्त गरेका हुन्।

“नेपालको दूरदराजसम्म सामुदायिक रेडियोले समुदायको भाषा र संस्कृति संरक्षण एवम् नागरिकलाई सुसूचित गराउन खेलेको भूमिकाको म प्रशंसा गर्न चाहन्छु”, उनले भने।

नेपालको प्रसारण क्षेत्रको कुरा गर्दा सामुदायिक रेडियोको योगदानलाई विशेष रूपमा उल्लेख गर्नुपर्ने बताउँदै उनले स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

“यसले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्नुका साथै लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ”, राष्ट्रपति पौडेलले भने।

रेडियो अब रेडियो सेटमा मात्र सीमित नरहेको र टेलिभिजन पनि टेलिभिजनको पर्दामा मात्र सीमित नभएको उनको भनाइ थियो।

“आज समाचार मोबाइल फोनमा छ, पोडकास्टमा छ, सामाजिक सञ्जालमा छ, डिजिटल प्लेटफर्ममा छ र कृत्रिम बौद्धिकताले तयार पार्ने तथा वितरण गर्ने नयाँ माध्यमहरूसमेत पुगिरहेको छ”, उनले भने।

एसिया प्रशान्त प्रसारण विकास संस्थाको २४औँ साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला काठमाडौँमा आयोजना भएको र यसले बाल पोषणमा सञ्चारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन तथा प्रसारणमा एआई र नयाँ प्रविधिको रूपान्तरणबारे छलफल गरी एसियाका प्रसारकहरूको आगामी मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुसी लागेको उनले उल्लेख गरे।