चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु

चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

बुधवार बिहान भएको यस प्राकृतिक विपद्पछि चिनियाँ अधिकारीहरूले व्यापक स्तरमा उद्धार र राहत कार्य शुरु गरेका छन् । चीनको प्राकृतिक स्रोत मन्त्रालयले भौगर्भिक विपद्का लागि दोस्रो उच्च तहको आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ ।

मन्त्रालयले उद्धार कार्यको प्रत्यक्ष निगरानी गर्न र थप सम्भावित जोखिम न्युनिकरणका लागि एक विज्ञ टोली घटनास्थलमा पठाएको छ ।

विपद् रोकथाम, न्युनिकरण तथा राहतका लागि राष्ट्रिय आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा दोस्रो तहको राहत प्याकेज घोषणा गरेका छन् ।

विस्थापितहरूको उचित व्यवस्थापनका लागि ३० हजार थान केन्द्रिय राहत सामग्री विनियोजन गरिएको छ, जसमा टेन्ट, चुलो, लत्ताकपडा, कम्बल र ओछ्यानहरू समावेश छन् ।

आर्थिक सहयोगतर्फ, चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले सिझाङमा तत्काल उद्धार कार्य सञ्चालन गर्न १२ करोड युआन (करिब १७.६९ मिलियन अमेरिकी डलर) विनियोजन गरेका छन् । यसका साथै, राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पुनर्निर्माण र पूर्वाधार पुनस्र्थापनाका लागि थप १० करोड युआन उपलब्ध गराउने निर्णय गरेको छ ।

सिगात्से सहरको केरुङ काउन्टीस्थित आपत्कालीन व्यवस्थापन ब्युरोकाअनुसार पहिरोका कारण नाका जोड्ने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । विपद्ले गर्दा उक्त क्षेत्रमा सञ्चार र विद्युत् आपूर्ति समेत ठप्प भएको जनाइएको छ ।

केरुङ नाका नेपाल र चीनबीचको व्यापार तथा पारवहनका लागि प्रयोग हुने एक प्रमुख स्थल मार्ग हो । हाल त्यहाँ युद्धस्तरमा उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।