बाढीबाट भएको विनाशप्रति राष्ट्रसंघको चासो, थप सहयोगको प्रतिबद्धता

बाढीबाट भएको विनाशप्रति राष्ट्रसंघको चासो, थप सहयोगको प्रतिबद्धता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल र चीनमा बाढीका कारण भएको ठूलो क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुःख व्यक्त गरेका छन् । बाढीमा परी मानिसहरूको मृत्यु हुनुका साथै धेरै नागरिक बेपत्ता भएको र ठूलो भौतिक क्षति पुगेको घटनाले आफूलाई दुःखी बनाएको गुटेरेसले बताएका छन् ।

उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । विपद्बाट प्रभावित नागरिकप्रति पनि उनले ऐक्यबद्धता जनाएका छन् । नेपालमा बाढीपछि सञ्चालन भइरहेको उद्धार तथा राहत अभियानमा संयुक्त राष्ट्रसंघले आवश्यक सहकार्य गरिरहेको जनाएको छ ।

प्रभावित क्षेत्रको अवस्था र क्षतिको विवरण संकलन गर्नुका साथै आवश्यक मानवीय सहायता उपलब्ध गराउने काममा राष्ट्रसंघीय निकाय सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित समुदायसम्म राहत पुर्‍याउन राष्ट्रसंघीय टोली र साझेदार संस्थाहरूले आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरिरहेका छन् । गुटेरेसले जोखिमपूर्ण अवस्थामा पनि नागरिकको उद्धार तथा सुरक्षाका लागि खटिएका उद्धारकर्मीहरूको प्रशंसा गरेका छन् ।

प्रभावित क्षेत्रमा आवश्यक परे थप सहायता उपलब्ध गराउन राष्ट्रसंघ तयार रहेको उनले बताएका छन्।