चितवनमा सङ्कलित शव जमिनमुनि गाडिने

चितवनमा सङ्कलित शव जमिनमुनि गाडिने


ग्लोब नेपाल
0
Shares

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव जमिनमुनि गाडिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन शव जमिनमुनि गाड्ने निर्णय गरेको हो ।

जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रशासनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट सङ्कलन गरिएका शव र शवका अवशेषहरू सड्न थालेका छन् । तीमध्ये केही शव अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायअनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिनमुनि गाडिने निर्णय गरेको प्रजिअ अर्यालले बताए ।

प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ । प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ, ‘सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।’

निर्णयअनुसार सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा प्रस्तुत निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण पीडित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचनासमेत गरेको छ ।