काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङ-लमही सडक खण्डमा सडक क्षेत्राधिकारभित्र रहेका रूख अनधिकृत रूपमा कटान गरी सरकारी सम्पत्तिमा हानि नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार राप्ती गाउँपालिका-१ पाखापानीदेखि लमही नगरपालिका-४ अर्नहवासम्म राजमार्गको दायाँबायाँ क्षेत्रमा सिमल, सिसौलगायत विभिन्न जातका २ हजार ७२४ वटा रूख काटिएको अनुसन्धानबाट खुलेको छ। कटान गरिएका रूखबाट ४० हजार ५५५ घनफिट काठको ८१ लाख ३७ हजार ९०० रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि नोक्सानी भएको आयोगले जनाएको छ।
मुद्दामा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ ९देउखुरी० का तत्कालीन वन अधिकृत राजु क्षेत्रीलाई मुख्य प्रतिवादी बनाइएको छ। दुवैविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपैयाँ बिगो कायम गरी कैद, बिगोबराबर जरिवाना तथा बिगो असुलउपरको माग दाबी गरिएको छ।
त्यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपैयाँ र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी लिइएको छ।
आयोगले राप्ती गाउँपालिका-४ का अभिमान चौधरी, नन्दु गिरी, राप्ती गाउँपालिका-२ का झविन्द्र प्रसाद भण्डारी तथा लमही नगरपालिका-२ का केशरबहादुर चौधरीलाई मतियारका रूपमा प्रतिवादी बनाएको छ। उनीहरूविरुद्ध क्रमशः ७३ हजार ६४६ रुपैयाँ, ३० हजार ९७० रुपैयाँ, १ लाख ४१ हजार २२६ रुपैयाँ र ३६ हजार ६१० रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगका अनुसार सडक क्षेत्रमा रहेका रूख हटाउने विषयमा विभागीय प्रक्रिया अघि बढिरहेको अवस्थामा अनधिकृत रूपमा रूख कटान गरिएको थियो। कटान तथा काठ ओसारपसार रोक्नुपर्ने र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित व्यवस्थाबमोजिम मुख्य प्रतिवादी तथा मतियारविरुद्ध कैद, जरिवाना र हानि नोक्सानी भएको बिगो असुलउपरको माग दाबी गर्दै मुद्दा दायर गरेको हो।


प्रतिक्रिया