प्रधानाध्यापक कुटिएपछि विद्यालयमा तनाव

प्रधानाध्यापक कुटिएपछि विद्यालयमा तनाव


ग्लोब नेपाल
0
Shares

रौतहट । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकसहित शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट भएको  छ।

सोमबार दिउँसो विद्यालयमा सरसफाइको विषयलाई लिएर प्रधानाध्यापक वीरेन्द्र झाले एक छात्रामाथि अमर्यादित तथा अश्लील गालीगलौज गरेको आरोपपछि विद्यार्थीहरूले प्रधानाध्यापक झामाथि आक्रमण गरी कुटपिट गरेको बताइएको छ।

घटनाका क्रममा प्रधानाध्यापक झासहित विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा प्रधानाध्यापकका आफन्तमाथि समेत विद्यार्थी र बाह्य व्यक्तिहरूको समूहले कुटपिट गरेको आरोप लगाएका छन्। घटनालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि समेत कुटपिट भएको बताइएको छ।

छात्रामाथि प्रधानाध्यापकबाट वास्तवमै अमर्यादित व्यवहार भएको हो भने त्यसको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयको माग छ। तर, कुनै घटनाको वास्तविकता नखुल्दै भीड जम्मा गरेर शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट गर्नु पनि कानुनसम्मत नहुने उनीहरूको भनाइ छ।

‘कुनै व्यक्तिलाई दोषी ठहर गर्ने अधिकार भीडलाई होइन, कानुनी निकायलाई हुन्छ,’ स्थानीय एक प्रत्यक्षदर्शीले भने, ‘त्यसैले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन आवश्यक छ।’

घटनामा राजनीतिक प्रभाव वा अन्य कुनै कारण जोडिएको हो कि भन्ने प्रश्नसमेत उठिरहेको छ। त्यसैले घटनाको सबै पक्षको गहन छानबिन गरी वास्तविकता बाहिर ल्याउन बलरा नगरपालिका र सर्लाही प्रशासनमाथि चुनौती थपिएको स्थानीयको भनाइ छ।

विद्यालयलाई शिक्षा, अनुशासन र मर्यादा सिकाउने स्थानका रूपमा लिइन्छ। शिक्षकले विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने हुन्छ भने विद्यार्थीले पनि शिक्षकप्रति मर्यादा कायम राख्नुपर्ने स्थानीय बताउँछन्।

नगरप्रमुख रमाशंकर कुशवाहाले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविकता पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गर्ने बताएका छन्।

नगरप्रमुख कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण, शान्ति तथा सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरेका छन्।

घटनाका सम्बन्धमा प्रधानाध्यापक वीरेन्द्र झासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।