अमेरिकाद्वारा नेपाललाई दुई खेप मानवीय सहायता

अमेरिकाद्वारा नेपाललाई दुई खेप मानवीय सहायता


ग्लोब नेपाल
0
Shares

काठमाडौं। नेपालमा भदौ १० गते आएको विनाशकारी भोटेकोशी हिमबाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप मानवीय तथा विपत् प्रतिकार्य सहायता उपलब्ध गराउने क्रम जारी राखेको छ।

नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्‍याउन अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत विपत् प्रभावितका लागि आपत्कालीन राहत सामग्री बुधबार नेपाल आइपुगेको हो।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ५ हजार थान विशेष राहत सामग्री, पाँच सय थान प्राथमिक उपचार किट, स्ट्रेचर र भारवहन उपकरण राहतस्वरूप नेपाल ल्याइएको हो। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको उक्त सामग्रीबाहेक बाढी प्रतिकार्यका लागि यसअघि नै घोषणा गरिएको तीन लाख ६० हजार अमेरिकी डलर बराबरको सहायता पनि रहेको दूतावासले जनाएको छ।

नेपाल–अमेरिकाबीचको दिगो साझेदारीलाई स्मरण गर्दै विपत्को यस घडीमा प्रभावित समुदायलाई सहयोग गर्नु अमेरिकी सरकारको साझा दायित्व भएको र सहायता निरन्तर जारी रहने दूतावासले स्पष्ट पारेको छ।