बाढीको रिपोर्टिङ गर्न विदेशी पत्रकारले विशेष परिचयपत्र लिनुपर्ने

बाढीको रिपोर्टिङ गर्न विदेशी पत्रकारले विशेष परिचयपत्र लिनुपर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा समाचार संकलन गर्न चाहने विदेशी सञ्चारमाध्यमका पत्रकारले सूचना तथा प्रसारण विभागबाट प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र लिनुपर्ने भएको छ।

विभागले बिहीबार सूचना जारी गर्दै विदेशी पत्रकारका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको हो। इच्छुक पत्रकारले विभागको अनलाइन सेवा प्रणालीमार्फत आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। विभागका अनुसार प्राप्त आवेदन र त्यससँग संलग्न प्रमाणित कागजातका आधारमा महानिर्देशकले प्रेस एक्रिडिटेसन तथा पत्रकार परिचयपत्र जारी गर्नेछन्।

विभागको २०२६ सेप्टेम्बर २ को निर्णयअनुसार जारी हुने उक्त परिचयपत्र १५ दिनसम्म मान्य हुनेछ। परिचयपत्र विदेशी पत्रकारलाई बाढी प्रभावित क्षेत्रमा पुगेर समाचार संकलन गर्न सहजीकरण गर्ने उद्देश्यले प्रदान गर्न लागिएको हो। विदेशी पत्रकारले आवेदनसँगै वैध भिसा वा प्रवेश अनुमतिसहितको राहदानीको प्रतिलिपि पेस गर्नुपर्नेछ।

यस्तै, सम्बन्धित सञ्चार संस्थाले सूचना तथा प्रसारण विभागलाई सम्बोधन गरी दिएको सिफारिस पत्र र पत्रकार सम्बन्धित देशको दूतावास, वाणिज्य दूतावास वा परराष्ट्र मन्त्रालयबाट जारी सिफारिस पत्र पनि अनिवार्य गरिएको छ।

आवेदन तथा परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा सहयोग आवश्यक पर्ने पत्रकारका लागि विभागमा सहायता कक्षको व्यवस्था गरिएको छ। विभागले विदेशी पत्रकारलाई आवश्यक कागजातसहित सूचना व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन आग्रह गरेको छ।