योगेशले समय मागेपछि ओलीले भनेः बोल्न खोजेको विषय पहिले लेऊ

योगेशले समय मागेपछि ओलीले भनेः बोल्न खोजेको विषय पहिले लेऊ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठकमा अघिल्लो दिन नै गरेको कडा रुलिङलाई अध्यक्ष केपी शर्मा ओलीले निर्ममतापूर्वक लागू गरेका छन । आज (मंगलबार) दोस्रो दिनको बैठकमा उपमहासचिव योगेश भट्टराईले बोल्न खोजे पनि अध्यक्ष ओलीले समय दिएनन् ।

सोमबार ओलीले मात्रै बोलेपछि राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि बैठक सकिएको थियो । प्रतिवेदन अध्ययन गरेर पदाधिकारीलाई १५ मिनेट र केन्द्रीय सदस्यलाई ३ मिनेटका दरले समय दिने बताएका थिए । केन्द्रीय सदस्यको हकमा घोषणा नै गरेका थिए ।

तर, पदाधिकारीलाई पनि १५ मिनेट दिने तय भएको थियो । मंगलबार बिहानबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितले बोलेपछि अर्का पदाधिकारी योगेश भट्टराईले पनि बोल्नका लागि अध्यक्ष ओलीसँग समय मागे । तर, ओलीले समय दिन मानेनन् । ‘योगेशजीले बोल्न खोज्नुभयो ।

अध्यक्षज्यू समय दिनुस् भन्नुभयो । तर, अध्यक्षले बोल्न खोजेको विषय पहिले लेऊ भन्नुभयो,’ एमाले स्रोतले भन्यो, ‘योगेशजीले आफूले बोल्न खोज्नुभएको ड्राफ्ट अध्यक्षलाई दिनुभयो ।

तर, मंगलबार समय दिनुभएन । म हेर्छु भनेर आफैंसँग राख्नुभयो ।’ अध्ययन गरेर अब अर्को दिन बोल्न दिने वा नदिनेबारे कुनै टुंगो नभएको नेताहरू बताउँछन् ।