नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशन सिड्नीस्थित रकडेलको एभरेष्ट फङ्सन सेन्टरमा सम्पन्न भएको छ। क्रियाशील सदस्य तथा जनसम्पर्क सदस्यहरूको उपस्थितिमा १९ सेप्टेम्बर २०२६, शनिबार उद्घाटन तथा बन्दसत्रसहित अधिवेशन भव्य रूपमा सम्पन्न भएको हो।
अधिवेशनको सफलताको शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य दिनेश कोइरालाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए।
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक तथा पूर्वअध्यक्ष कृष्ण गिरी, अधिवेशन तयारी समितिका संयोजक अभिमन्यु केसी लगायतले अधिवेशनको उद्घाटन गरेका थिए।
अधिवेशनले आवश्यक निर्वाचन प्रक्रिया सम्पन्न गर्दै शीतल गिरीको अध्यक्षतामा केन्द्रीय तथा राज्य समितिको गठन प्रक्रिया समेत सम्पन्न गरेको छ। लामो समयदेखि सिड्नीमा बस्दै आएका गिरीले यसअघि न्यू साउथ वेल्स (NSW) राज्य संयोजकका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। अष्ट्रेलियामा रहेका नेपाली समुदाय र नेपाली कांग्रेसबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्रिय गिरी अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन्।

अध्यक्ष पदका प्रत्याशी रोहित खड्काले युवा पुस्ता र क्षमता भएका व्यक्तिलाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्दै निर्वाचनअघि नै शीतल गिरीको उम्मेदवारीलाई समर्थन गरेका थिए। खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सहज भएको थियो।
उद्घाटन सत्रमा एनआरएनएका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, समितिका सल्लाहकार प्रेम सापकोटा, संरक्षक कृष्ण गिरी, अधिवेशन तयारी समितिका संयोजक अभिमन्यु केसी, सदस्यहरू दुर्गा आचार्य र गणेश केसी, संस्थापक दिनेश जोशी, पत्रकार हेमन्त काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
चुनौती र अवसर दुवैका बीच सम्पन्न भएको यस अधिवेशनले रकडेलमा चार दिनसम्म भाइचारा र आत्मीयता साटासाट गर्ने वातावरण सिर्जना गरेको थियो। अधिवेशनले नेपालमा हुने पार्टीका अधिवेशनहरूको झल्को दिएको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वनिर्वाचन संयोजक राजु अधिकारीले बताए।
कार्यक्रम समितिका उपाध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय समित केसी र रोहित खड्काले गरेका थिए।
अधिवेशनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि १४ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ।


प्रतिक्रिया