नेपाललाई राहत र पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने

नेपाललाई राहत र पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अमेरिकाले नेपालमा बाढीपछि भइरहेको राहत तथा पुनर्लाभका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै सहयोगको घोषणा गरेको हो। भेटमा हुकरले बाढीबाट प्रभावित नेपाली नागरिक तथा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति हुकरले सहानुभूति व्यक्त गरे ।

अमेरिकाले बाढीबाट क्षतिग्रस्त क्षेत्रमा स्थायी पुल निर्माणका लागि १ करोड डलर उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने छन्। पुल निर्माणले यातायात पूर्वाधार पुनःस्थापना गर्न र क्षेत्रीय आवतजावत सहज बनाउन सहयोग पुग्ने अमेरिकाको भनाइ छ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोका सामग्रीका लागि थप ८० लाख डलर सहयोग गरिने भएको छ।

विपद्का बेला खोज, उद्धार तथा पुनर्लाभका कामलाई प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनका लागि पनि १ करोड ३० लाख डलर उपलब्ध गराउने योजना अमेरिकाले बनाएको छ। नयाँ सहयोगसँगै नेपालमा बाढीपछि राहत तथा पुनर्लाभका लागि अमेरिकाले गरेको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।

अमेरिकाले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन नेपालसँग सहकार्य जारी राख्ने जनाएको छ।