काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (शुक्रबार) बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुख्य रूपमा जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै बालेनले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको आवाज उठाइरहेका बेला उनको सम्बोधनलाई ध्यानपूर्वक सुनिरहेका थिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि प्रधानमन्त्री बनेसम्म बालेनलाई पृष्ठभूमिमा रहेर सल्लाह र सुझाव दिँदै आएका बेनको पहिरन पनि बेलाबेला चर्चा पाउने गरेको छ ।
सामान्यतया चेक सर्ट र बाक्लो ज्याकेटमा देखिने बेन न्युयोर्क प्रस्थान गर्ने दिन विमानस्थलमा पनि त्यही शैलीमा देखिएका थिए । तर, राष्ट्रसंघको महासभामा भने उनको हुलिया केही फरक थियो ।
शुक्रबार उनी सेतो सर्ट, टाइ र कोटमा ठाँटिएका थिए । कोटमा सिलाम साक्मासमेत भिरेका बेन प्रधानमन्त्री बालेनको सम्बोधनका क्रममा निकै ध्यानपूर्वक सुनिरहेको अवस्थामा देखिए । यतिबेला उनको नयाँ हुलियाको समेत सामाजिक सञ्जालमा चर्चा पाएको छ ।


प्रतिक्रिया