राष्ट्रसंघको युट्युबमा सर्वाधिक हेरियो प्रधानमन्त्री बालेनको भाषण

राष्ट्रसंघको युट्युबमा सर्वाधिक हेरियो प्रधानमन्त्री बालेनको भाषण


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनले विश्व नेताहरूका भाषणमध्ये उल्लेख्य डिजिटल रेकर्ड कायम गरेको छ।

संयुक्त राष्ट्रसङ्घको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका ८१औँ महासभाका विश्व नेताहरूका सम्बोधनमध्ये प्रधानमन्त्री शाहको भाषण सबैभन्दा बढी हेरिएको भिडियो बनेको हो।

सोमबार बिहानसम्म प्राप्त विवरणअनुसार शाहको सम्बोधनले ७ लाख भन्दा बढी भ्युज पार गरिसकेको छ। भने, भ्युज निरन्तर बढिरहेको छ। सोमबार बिहानसम्मको विवरणमा उक्त भिडियो ७ लाख भन्दा बढी पटक हेरिएको र करिब ९ हजार प्रतिक्रिया आएको छ, जो निरन्तर बढ्ने क्रममा रहेको छ ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोही महासभाको सम्बोधनको भिडियो करिब ४ लाख १० हजार पटक हेरिएको छ। अन्य अधिकांश राष्ट्रप्रमुखका सम्बोधनको भ्युज भने २ लाख भन्दा कम पटक हेरिएको देखिन्छ।

‘हिमालयबाट आएको चेतावनी’
प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको सामान्य बहसलाई सम्बोधन गरेका थिए। आफ्नो पहिलो अन्तर्राष्ट्रिय महासभा सम्बोधनमा उनले नेपालमा हालै आएको भोटेकोसी–त्रिशूली बाढीपहिरोलाई जलवायु सङ्कटको गम्भीर संकेतका रूपमा प्रस्तुत गरेका थिए।

उनले सम्बोधनको सुरुवात नै नेपाललाई ‘हिमालयको एक दुर्गम देश’ भन्दै मानव जातिका लागि नजिकिँदो चेतावनी बोकेर आएको सन्देशबाट गरेका थिए। उनले भोटेकोसी–त्रिशूली विपद् केवल नेपालको स्थानीय त्रासदी नभई संसारका लागि चेतावनी भएको बताएका थिए।

शाहले हिमाली क्षेत्रमा बढिरहेको तापक्रम, हिमनदी पग्लिने क्रम, पर्माफ्रोस्टको क्षय, हिमताल विस्फोट, पहिरो तथा बाढीको बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराए।

उनको तर्क थियो—जलवायु सङ्कट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको असर भने नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले ठुलो मूल्य चुकाएर भोगिरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको सम्बोधनमा जलवायु न्याय र नेपालमा भएको विनाशकारी बाढीलाई प्रमुख विषयका रूपमा प्रस्तुत गरेका छन्।

नेपाल–भारत–चीनबीच हिमालय जलवायु संयन्त्रको प्रस्ताव
प्रधानमन्त्री शाहले सम्बोधनमार्फत नेपाल, भारत र चीनको सहकार्यमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ निर्माण गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।

हिमाली क्षेत्रमा जोखिममा रहेका हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण, वैज्ञानिक तथ्यांक तथा स्याटेलाइट सूचना आदानप्रदान र विपद्का बेला क्षेत्रीय समन्वयका लागि यस्तो संयन्त्र आवश्यक रहेको उनको धारणा थियो।

जलवायु परिवर्तनले कुनै अन्तर्राष्ट्रिय सीमा नमान्ने भन्दै उनले हिमालय क्षेत्रमा हुने वातावरणीय परिवर्तनको असर नेपालमा मात्र सीमित नहुने बताए। हिमनदी र हिमतालमा आउने परिवर्तनले नेपालसँगै भारत र चीनका नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाउन सक्ने उनको भनाइ थियो।

युद्ध र जलवायु सङ्कटमाथि पनि प्रश्न
शाहले आफ्नो सम्बोधनमा जलवायु सङ्कटसँगै विश्वमा जारी युद्ध, खाद्य सुरक्षा र विश्वव्यापी असमानताको विषय पनि उठाएका थिए।

उनले युद्धका लागि विश्वले अत्याधुनिक र तीव्र आपूर्ति प्रणाली निर्माण गर्न सके पनि भोकमरी तथा खाद्य संकट समाधानका लागि त्यही स्तरको विश्वव्यापी संयन्त्र बन्न नसकेको प्रश्न उठाएका थिए। दक्षिण एसियाका नेपाल, बंगलादेशलगायत मुलुकले आफूले सिर्जना नगरेका संकटको ठुलो मूल्य चुकाइरहेको उनको तर्क थियो।

उनले जलवायु न्यायलाई केवल आर्थिक सहयोग प्राप्त गर्ने विषयका रूपमा नहेरी निर्णय प्रक्रियामा हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित तथा अल्पविकसित मुलुक र भावी पुस्ताको आवाजलाई समान महत्त्व दिनुपर्ने धारणा राखे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि व्यापक चर्चा
प्रधानमन्त्री शाहको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

अलजजिराले उनको सम्बोधनलाई नेपालमा आएको विनाशकारी बाढीलाई विश्वका लागि जलवायु परिवर्तनसम्बन्धी चेतावनीका रूपमा प्रस्तुत गरेको विषयमा केन्द्रित गरेको छ। एपी, रोयटर्स तथा अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको जलवायु न्याय, हिमालयको जोखिम र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी भनाइलाई समाचारको विषय बनाएका छन्।

‘सबैभन्दा बढी हेरिएको’ तर ‘सर्वकालीन रेकर्ड’ भने होइन
बालेन्द्र शाहको सम्बोधन ८१औँ महासभाका विश्व नेताहरूका सम्बोधनमध्ये संयुक्त राष्ट्रसङ्घको आधिकारिक युट्युब च्यानलमा सर्वाधिक हेरिएको तथ्य अहिले उपलब्ध स्रोतहरूले पुष्टि गरेता पनि यसलाई संयुक्त राष्ट्रसङ्घको युट्युब इतिहासकै सर्वाधिक हेरिएको भाषण भन्न भने मिल्दैन।

संयुक्त राष्ट्रसङ्घकै आधिकारिक युट्युब च्यानलमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले २०१९ मा गरेको ७४औँ महासभाको सम्बोधनको भिडियोमा हाल ७७ लाखभन्दा बढी भ्युज देखिन्छ। भने, बालेन्द्र शाहको सम्बोधनलाई ‘८१औँ महासभामा विश्व नेताहरूका सम्बोधनमध्ये सबैभन्दा बढी हेरिएको’ देखिन्छ।

नेपालका प्रधानमन्त्रीको पहिलो महासभा सम्बोधनले छोटो समयमै संयुक्त राष्ट्रसङ्घको आफ्नै डिजिटल प्लेटफर्ममा ठुलो दर्शक आकर्षित गर्नुले नेपालको जलवायु संकट, हिमालयको जोखिम र जलवायु न्यायको मुद्दाले अन्तर्राष्ट्रिय डिजिटल ध्यान खिचेको देखिन्छ।