नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८३ अन्तर्गत केन्द्रीय मूल्याङ्कन समितिले जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरेको छ।
केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी सिद्धि विक्रम शाहको नेतृत्वमा डिआईजी दिनेश कुमार आचार्यलगायत वरिष्ठ प्रहरी अधिकृत सम्मिलित टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा तथा जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा कार्यालयका विभिन्न शाखाको कार्यसम्पादन, अभिलेख व्यवस्थापन, जनशक्ति परिचालन, सुरक्षा व्यवस्थापन, प्रहरी कार्यसम्पादन तथा सेवाग्राहीप्रतिको व्यवहारलगायतका पक्षको विस्तृत मूल्याङ्कन गरिएको थियो।
टोलीले प्रहरी कार्यालयबाट नागरिकलाई उपलब्ध गराइँदै आएको सेवा, सेवा प्रवाहको प्रभावकारिता र प्रहरीको नागरिकमैत्री व्यवहारबारे समेत जानकारी लिएको थियो।
अनुगमनका क्रममा कार्यालयको समग्र व्यवस्थापन तथा कार्यप्रणालीको अवस्थाको समीक्षा गर्दै प्रहरी सेवा अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक सुधारका विषयमा समेत सुझाव दिइएको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले बताएका छन्।
नेपाल प्रहरीको कार्यदक्षता, अनुशासन, सेवा प्रवाह तथा नागरिकप्रतिको जवाफदेहितालाई मूल्याङ्कन गर्ने उद्देश्यले ‘पुलिस ब्याटन’ कार्यक्रमअन्तर्गत विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण हुँदै आएको छ।


प्रतिक्रिया