प्रधानमन्त्री बालेनको भारत भ्रमणका लागि दुवै पक्ष सकारात्मक, मिति तय हुन बाँकी

प्रधानमन्त्री बालेनको भारत भ्रमणका लागि दुवै पक्ष सकारात्मक, मिति तय हुन बाँकी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले उपयुक्त समयमा परिणाममुखी र अर्थपूर्ण भ्रमण गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको बताए ।

उनले सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री साहको भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको स्मरण गर्दै नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको बताए ।

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ । उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन् । यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन’, खनालले भने ।

परराष्ट्रमन्त्री खनालले सरकार गठन भएपछि प्राथमिकताका आधारमा भारत र चीन भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीसँग भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनका लागि अधिकतम उपयोग गरिएको उनको भनाइ छ ।

‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने ।

महासभाका क्रममा भोटेकोशी बाढीपछिको विपद् अवस्था तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको उनले बताए । नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई विश्व समुदायसमक्ष पुर्‍याउन महासभा फलदायी भएको उनको दाबी छ ।

‘यस क्रममा भोटेकोशी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको छ’, खनालले भने ।

सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र नतिजामूलक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।