काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी मनोनयन पत्र दर्ता हुने भएको छ।
महाधिवेशन निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मनोनयन दर्ताको समय तोकिएको छ।
समितिले तोकिएको समयभित्र योग्य महाधिवेशन प्रतिनिधिहरूलाई उम्मेदवारी दाखिल गर्न आग्रह गरेको छ।अहिलेको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।
करिब ७,५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ। निर्वाचनको विस्तृत तालिका भने पछि प्रकाशित गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
नेपाली कांग्रेस पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफलमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफल सुरु भएको छ।
आकांक्षीहरूको संख्या धेरै भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहे पनि यसको अन्तिम निर्णय असोज १८ देखि २२ सम्म काठमाडौंमा हुने महाधिवेशनको बन्द सत्रले गर्नेछ।हालको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री (८ निर्वाचित र ३ मनोनीत) तथा १ मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ।
अहिले उपसभापति ३ (एक महिलासहित), महामन्त्री ३ र सहमहामन्त्री १५ सम्म पुर्याउनेबारे चर्चा चलेको छ।पार्टी प्रवक्ता देवराज चालिसे र महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी संख्या बढाउने वा साविककै राख्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय भइसकेको छैन।
महामन्त्री पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको र बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी यसबारे टुङ्गो लगाउने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया