काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता गराउने गरी तयारी अघि बढाइएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणका लागि आन्तरिक गृहकार्य थालेको उच्च स्रोतले जनाएको छ।
प्रशासन उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण मंसिर ७ गतेदेखि गराउने गरी प्रारम्भिक तयारी भइरहेको छ। भ्रमण तीन दिनसम्म रहने गरी सम्भावित कार्यतालिकामा गृहकार्य भइरहेको बताइएको छ।
तर, भ्रमणको मिति र विस्तृत कार्यतालिकाबारे दुवै देशका सम्बन्धित निकायबाट औपचारिक घोषणा भइसकेको छैन। त्यसैले मंसिर ७ गतेलाई प्रस्तावित मितिका रूपमा मात्रै हेरिएको छ।
एजेन्डामा पनि गृहकार्य
सम्भावित भ्रमणलाई लक्षित गर्दै उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय छलफलका एजेन्डा तथा हुन सक्ने समझदारीका विषयमा समेत गृहकार्य भइरहेको स्रोतले जनाएको छ।
भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी तयारी भइरहेको बताइएको छ। औपचारिक कार्यतालिका तय भएसँगै भ्रमणका एजेन्डासमेत स्पष्ट हुनेछन्।
औपचारिक घोषणापछि मात्रै मिति निश्चित
प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि पछिल्लो समय दुवै पक्षबीच विभिन्न तहमा संवाद भइरहेको बताइएको छ । त्यसैको निरन्तरताका रूपमा सम्भावित भ्रमणको मिति र कार्यतालिकामा कूटनीतिक तहबाट गृहकार्य भइरहेको उच्च स्रोतको भनाइ छ।
यद्यपि, मंसिर ७ गतेबाट भ्रमण हुने विषय औपचारिक रूपमा पुष्टि भइसकेको छैन। दुवै देशका सम्बन्धित निकायबाट औपचारिक घोषणा भएपछि मात्रै भ्रमणको मिति र विस्तृत कार्यतालिका निश्चित हुनेछ।


प्रतिक्रिया