जनसम्पर्क समितिबाट उम्मेदवार बन्न नेपाली नागरिकता अनिवार्य

जनसम्पर्क समितिबाट उम्मेदवार बन्न नेपाली नागरिकता अनिवार्य


ग्लोब नेपाल
189
Shares

काठमाण्डौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नेपाली जनसम्पर्क समितिबाट उम्मेदवार बन्नेहरूले अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ।

निर्वाचन समितिले जनसम्पर्क समितिका प्रतिनिधिहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरेको हो। नेपाली कांग्रेसको विधानले विदेशी नागरिकता लिएकाहरूलाई उम्मेदवार र महाधिवेशन प्रतिनिधि बन्नबाट वञ्चित गरेको छ। तर, यूके, अमेरिका, अष्ट्रेलियालगायतका देशबाट आएका अधिकांश प्रतिनिधिहरूले विदेशी नागरिकता लिएका छन्।

निर्वाचन समितिले जारी गरेको सूचनामा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख छ। साथै, उम्मेदवारले मनोनयनपत्रसँग निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, तोकिएबमोजिमको फोटोसहितको परिचयपत्र र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचनाअनुसार वारेसमार्फत मनोनयनपत्र दर्ता गर्दा वारेसनामा र वारेसको नेपाली नागरिकताको फोटोकपीसमेत पेश गर्नुपर्नेछ।

केन्द्रीय सभापति पदका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति तथा महामन्त्री पदका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक, विभिन्न समूहका केन्द्रीय सहमहामन्त्री पदका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि ३ जना प्रस्तावक र ३ जना समर्थकको नाम, थर, ठेगाना, मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा अनिवार्य उल्लेख हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, आफू उम्मेदवार हुन चाहेको पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक वा समर्थक बन्न नपाइने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले चुनावी प्रचारप्रसारमा उम्मेदवारको फोटो, नाम वा चुनाव चिन्ह अंकित टोपी/क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेटलगायतका प्रचारात्मक सामग्री प्रयोग गर्न समेत रोक लगाएको छ। उम्मेदवारले भने आफ्नो उम्मेदवारी र आफूले उम्मेदवारी दिएको पदसम्बन्धी सामान्य परिचय वा जानकारी दिने पर्चा/पम्प्लेट वितरण गर्न सक्नेछन्। मतदानस्थल आसपास फ्लेक्स प्रिन्ट राख्नसमेत निषेध गरिएको छ।

साथै, नेपाली कांग्रेस १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ को दफा १७ मा उल्लिखित आचारसंहिता सबैले अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।