एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहनेछ । बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले बताए ।

बैठकको सुरुआतमै पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । ‘आजको बैठकमा चारवटा एजेण्डा थिए । वरिष्ठ नेता विद्यादेवी भण्डारीले बैठकको आरम्भमै शपथ ग्रहण गर्नुभयो । संगठनसम्बन्धी प्रस्तावमा विशेष छलफल भएर निर्णय भएको छ,’ भट्टले भने ।

बैठकले मधेस प्रदेशमा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनव खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीको क्रमअनुसार नाजमा खातुनलाई पठाउने निर्णयसमेत गरेको छ ।

भट्टका अनुसार जैनवको निधनपछि रिक्त स्थानमा बन्दसूचीको क्रम संख्या ४० मा रहेकी नाजमा खातुनलाई निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको हो ।

एमालेले अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा स्थानीय कमिटीबाटै अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । स्थानीय कमिटीले अध्यक्ष चयन गरी माथिल्लो कमिटीबाट अनुमोदन गराएपछि कार्यान्वयनमा लैजाने व्यवस्था गरिएको भट्टले बताए ।

‘१३ वटा जिल्लामा अध्यक्ष पद खाली रहेको छ । त्यसका लागि स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीमार्फत अनुमोदन गराई त्यसपछि कार्यान्वयनमा जान्छ । त्यो आयोजक समितिको रूपमा रहन्छ,’ उनले भने ।

बैठकले संगठनसम्बन्धी बाँकी विषयमा निर्णय गर्न शुक्रबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय गरेको पनि भट्टले जानकारी दिए ।