काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। उनीमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ।
सुनापती गाउँपालिका-५,खनियापानीकी बिनिता नेपाली काँग्रेसको विशेष अधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित र हाल रामेछापबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् । सोही प्रकरणमा प्रहरीले यसअघि नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं,पत्रकार बालिका सिवाकोटी,ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरिसकेको छ।
२०८२ पुसको अन्त्यमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उनी जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकी थिइन्। १५औँ महाधिवेशनमा रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। कांग्रेसको खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेकी हुन् ।
वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नाम पनि अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया