नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा निगरानी बढाइएको छ भने विभिन्न स्थानमा अवरोधक राखेर सवारीसाधन तथा यात्रुको जाँच भइरहेको छ।
अमर उजालाका अनुसार, प्रदर्शनका कारण दिल्लीका ४५ मेट्रो स्टेसन बन्द गरिएका छन्। दिल्ली आउने केही रेल रद्द गरिएका छन् भने केहीको मार्ग परिवर्तन गरिएको छ। प्रदर्शन प्रभावित क्षेत्रवरपर इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको समाचारमा उल्लेख छ।
दिल्ली प्रहरीले प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी हुन सक्ने अनुमान गरेको छ। यसले यातायात र शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै नयाँदिल्ली जिल्लाका प्रभावित मार्गमा दिल्ली परिवहन निगम (डीटीसी) का बस सञ्चालन नियन्त्रण गर्न र आवश्यकताअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिइएको छ।
दिल्ली प्रहरीकी उत्तरी जिल्ला उपआयुक्त निहारिका भट्टले जिल्लाका प्रवेश तथा निकास बिन्दुमा सुरक्षाकर्मी परिचालन गरिएको बताएकी छन्। उनका अनुसार, भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू रहेको र प्रदर्शनका लागि अनुमति नदिइएको अवस्थामा शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिएको छ।
प्रहरीले असामाजिक तत्त्वलाई दिल्ली प्रवेश गर्नबाट रोक्ने र दैनिक जनजीवन सामान्य राख्ने प्रयास भइरहेको जनाएको छ। दिल्ली विश्वविद्यालयका कक्षा पनि नियमित रूपमा सञ्चालन हुने प्रहरीले बताएको छ।
यसैबीच, दिल्लीको हर्ष विहार क्षेत्रस्थित एक मस्जिदबाट मौलानाले सर्वसाधारणलाई प्रदर्शनमा सहभागी नहुन अपिल गरेका छन्। उनले प्रस्तावित प्रदर्शनलाई अवैध भन्दै प्रशासनका निर्देशन पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।
शनिबार बिहानैदेखि जन्तरमन्तर क्षेत्रमा मानिसहरू भेला हुन थालेका छन्। संसद् मार्ग प्रहरी कार्यालयबाहिर पनि प्रदर्शनसम्बन्धी सूचना प्रसारण गरिएको छ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन आह्वान गरेको हो। भारतमा मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर जारी विवादका बीच यो प्रदर्शन हुन लागेको हो।


प्रतिक्रिया