गौरादह १ का ७६ जग्गादाता सम्मानित

गौरादह १ का ७६ जग्गादाता सम्मानित


ग्लोब नेपाल
0
Shares

झापा ।  झापाको गौरादह नगरपालिका वडा नं. १ मा सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने ७६ जना जग्गादातालाई सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको `भूमिदाता सम्मान कार्यक्रम´मा उनीहरूलाई सम्मान गरिएको हो।

वडाध्यक्ष नगेन्द्र भण्डारीले सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने भूमिदाताहरूलाई सम्मान गर्न पाउनु वडाका लागि गौरवको विषय भएको बताए। सार्वजनिक हितका लागि जग्गा प्रदान गर्ने दाताहरूको योगदानको कदर गर्न र भावी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि तथा प्रदेश सभाका सभामुख अमरबहादुर विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी, निवर्तमान नगरप्रमुख रोहितकुमार शाहलगायत जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि व्यक्तिगत जग्गा उपलब्ध गराउने जग्गादाताहरूको योगदानको उच्च प्रशंसा गरे। उनले सार्वजनिक संरचना निर्माणमा स्थानीयको सहयोग अत्यन्त महत्त्वपूर्ण हुने बताए।

मुख्यमन्त्री कार्कीले गौरादह क्षेत्रको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गौरादह पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल भइरहेको बताए। उनले गौरादहमा भइरहेका सडक, भौतिक पूर्वाधारलगायत विकास निर्माणका कामको चर्चा गर्दै योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन प्रदेश सरकार, स्थानीय तह र स्थानीयवासीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

विशिष्ट अतिथि सभामुख अमरबहादुर विष्टले सार्वजनिक प्रयोजनका लागि जग्गा दान गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताए। व्यक्तिगत स्वार्थभन्दा माथि उठी गरिएको यस्ता कार्यले समाजको मुहार फेर्न सहयोग पुग्ने उनको भनाइ थियो।

त्यस्तै, नगरप्रमुख छत्रपति सुवेदीले स्थानीयको सहयोग र सहभागिताले नगरको विकासलाई तीव्र गति दिन सहज हुने बताउँदै जग्गादाताहरूको योगदानको सधैँ सम्मान गर्नुपर्ने उल्लेख गरे। निवर्तमान नगरप्रमुख रोहितकुमार शाहले पनि जग्गादाताहरूको यो कदमलाई महत्त्वपूर्ण सामाजिक कार्यको रूपमा लिनुपर्ने बताए।

सार्वजनिक विकासमा स्थानीय सहभागिताको महत्व उजागर गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमबाट जग्गादाताहरूमा थप उत्साह थपिएको आयोजकले जनाएको छ।