काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शनिवार बिहान प्रहरीको टोली नख्खुस्थित निवासमै पुगेको थियो ।
साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो ।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं कलाकार हिमेश पन्तले शुक्रवार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएको बताइएको छ ।
ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरिएको छ ।
श्रेष्ठ यसअघि गत साउन २७ गते पनि काठमाडौं प्रहरीबाट पक्राउ परेका थिए । त्यतिबेला प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठको गिरफ्तारीविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए ।


प्रतिक्रिया